प्रदेश नामकरण र राजधानी निर्धारण विधिमाथि ‘हेडक्वाटर’ हावी
वागमती र हेटौंडा नामकरणमा जसरी खुलेर नेकपा–हेडक्वाटरको हस्तक्षेप भयो; बाँकी अन्य प्रदेशमा पनि यही प्रक्रिया दोहोरिने देखिन्छ । तर यस्तो व्यवहारले विशेषतः संविधानको संघीयता सम्बन्धी मर्म र अभ्यासलाई अपूरणीय क्षति पु¥याइरहेको छ ।
वागमती र हेटौंडा नामकरणमा जसरी खुलेर नेकपा–हेडक्वाटरको हस्तक्षेप भयो; बाँकी अन्य प्रदेशमा पनि यही प्रक्रिया दोहोरिने देखिन्छ । तर यस्तो व्यवहारले विशेषतः संविधानको संघीयता सम्बन्धी मर्म र अभ्यासलाई अपूरणीय क्षति पु¥याइरहेको छ ।
२७ पुस २०७६ मा प्रदेश–३ को संसद् (प्रदेश सभा)ले सो प्रदेशको नाम वागमती र राजधानी हेटौंडा तोक्ने निर्णय गरेपछि दुई वर्षदेखि अड्किएको यस सम्बन्धी बहस तत्काललाई किनारा लागेको छ । प्रदेश सभामा राजधानी र नामलाई लिएर निरन्तर रस्साकस्सी चल्दै आइरहेको थियो । नेकपाको दुईतिहाइ मत रहेको यो प्रदेशमा त्यही दलका अधिकांश सदस्यले वागमती र हेटौंडा विरुद्ध सदन र सडकमा आवाज चर्काउन थालेपछि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, ‘हेडक्वाटर’ अर्थात् पार्टी नेतृत्वको साथ खोज्न काठमाडौं उक्लिए । यसअघि, प्रदेश–५ को राजधानी तोक्ने विवाद पनि सो प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यसैगरी ‘हेडक्वाटर’ मार्फत नै टुंग्याएका थिए ।
मुख्यमन्त्रीहरू पौडेल र पोखरेल मात्र होइन; पहिलो संविधानसभामा आदिवासी जनजाति ‘ककस’ बनाई ‘तमुवान मगरात प्रदेश नाम राख्न ज्यानको बलिदान दिन समेत तयार’ पृथ्वीसुब्बा गुरुङको गण्डकी प्रदेशको न्वारान पनि नेकपाको ‘हेडक्वाटर’ले नै गरिदिएको थियो । कुनैवेला आफैंले प्रस्तावित गरेको तमुवान मगरात प्रदेशको मुख्यमन्त्री बनेपछि गुरुङ कतिसम्म निरीह बने भने उनीसँग सभ्यता बुझाउने सम्मको नाम गण्डक प्रदेश राख्ने सामथ्र्य समेत बाँकी रहेन । ‘हेडक्वाटर’को हस्तक्षेपलाई मुख्यमन्त्री गुरुङले अन्ततः आशीर्वादका रूपमा ग्रहण गरे । यसरी प्रदेश–४ र ५ को नजीर प्रदेश–३ का मुख्यमन्त्रीका निम्ति पनि मार्गनिर्देशक बन्न पुग्यो ।
प्रदेश–३ को नाम नेवाः ताम्सालिङ वा नेपालमण्डल र राजधानी काभ्रे हुनुपर्ने भन्दै चलेको अन्तरपार्टी संघर्ष टुंग्याउन नेकपा केन्द्रीय सचिवालयले राजधानी हेटौंडा र प्रदेशको नाम वागमती तोक्न प्रदेश पार्टी कमिटी मार्फत प्रदेश सभालाई निर्देशन दियो । पार्टीको यो निर्देशन कसैले नमान्ने देखिएमा प्रदेश सभामा ह्वीप लगाउन समेत भनिएको थियो । शुरूमा वागमती र हेटौंडा को विपक्षमा बोलिरहेकी नेकपा प्रदेश–३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य पनि हेडक्वाटरको निर्देशन पछि ‘निर्णय बेठीक भए पनि पार्टी बचाउन’ भन्दै समर्थनमा उत्रिइन् । नेकपाको जातीय विभागहरूको महासंघ आदिवासी जनजाति महासंघ, नेपालका सह–इन्चार्ज कमानसिं लामाले त आफ्नो पदबाट राजीनामा नै दिए । तर ‘हेडक्वाटर’ले उनको यो कदमलाई कुनै महत्व दिएन ।
आफ्नो राजीनाम बारे लामा भन्छन्, “पार्टीले संविधानको धारा ५६ मै प्रहार गर्यो । जब संविधानमा व्यवस्था गरिएको आदिवासी जनजातिका मुद्दा नै मिच्ने हो भने तिनका लागि किन संस्था चाहियो भनेर मैले राजीनामा बुझाएको हुँ ।” लामा नेकपा केन्द्रीय कमिटीका सदस्य पनि हुन् ।
लामाको राजीनामाबारे नेकपाले अझैसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । लामाको मुख्य असन्तुष्टि पार्टीले संविधान पालना नगरेकोमा छ । उनी भन्छन्, “अहिलेको व्यवस्था ल्याउन जनयुद्ध भयो । थुप्रै आन्दोलन भए । संविधान बनाइयो । देश संघीयतामा गयो । तर अहिले नेतृत्व धमाधम संविधान मिच्दै गइरहेको छ । संघीयता विफल बनाउने अभ्यास गरिंदैछ । यसमा प्रतिपक्ष पनि सँगै हिंडिरहेको छ । म त्यो बाटोमा हिंड्न चाहिनँ, त्यसैले राजीनामा दिएँ ।’
प्रदेशको नाम र राजधानी सम्बन्धी नेकपाको निर्णय प्रति फेसबूकमा स्टाटस लेखेर असन्तुष्टि जनाएका नेकपा केन्द्रीय कमिटी सदस्य तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको पनि पछि मुख बन्द भयो । तर तामाङ आफू चूप नबसेको आफूले पार्टीभित्र बहुपहिचानको पक्षमा सक्दो लबिइङ गरेको सुनाउँछन् । तामाङ भन्छन्, “बहुजातीय समाजमा हामी एकल पहिचानमा जानुहुँदैन भन्नेमा म प्रष्ट छु । बहुपहिचानलाई किनारा लगाई ‘भौगोलिक’ मात्र लागू गर्दा त्यसले भोलि जनतामाझ जाँदा हामी नाजवाफ हुने अवस्था आउने कुरामा पार्टीलाई सचेत गराइरहेको छु । हिजो बनाइएका आदिवासी जनजाति सम्बन्धी नीति र दृष्टिकोण परिवर्तन गरिनाको चित्तबुझ्दो कारण सम्बन्धित समुदायलाई दिइनुपर्छ भन्ने मेरो धारणा अहिले पनि यथावत् छ ।”
२०६८ सालमा शेरबहादुर तामाङको संयोजकत्वमा तात्कालीन एमाले वागमती अञ्चल कमिटी अन्तर्गत बनेको ‘राज्य पुनर्संरचना अध्ययन कार्यदल’ले वागमती नेवाः ताम्सालिङ नाम प्रस्ताव गरेको थियो ।
प्रदेश–३ को नामकरण विवाद चर्किंदै गएपछि आफूलाई पहिचानवादी आन्दोलनको प्राधिकार दावी गर्दै आइरहेका नेकपाका एउटा अध्यक्ष प्रचण्डले असन्तुष्ट नेताहरू सामु आफूले ‘पहिचानको राजनीति छाडेको’ सम्म भन्न भ्याए । २२ पुस २०७६ मा प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका प्रदेश–३ इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल सहित राजेन्द्र पाण्डे, पशुपति चौलागाईं आदि नेता र मन्त्रीहरूसामु प्रचण्डले “नेपालमा पहिचानको राजनीति मैले थालेको हो । अब मैले त्यो छाडिसकें । अब हामी यस्तोमा अल्झिने होइन । देश विकास गर्ने हो” भनेको कुरा सो बैठकमा सहभागीले त्यतिबेला सार्वजनिक गरेका थिए । सो बैठकपछि अष्टलक्ष्मी शाक्य लगायत वागमती र हेटौंडा को प्रस्तावमा असन्तुष्ट नेता र प्रदेश सांसद्हरू ‘पार्टी बचाउनुपर्छ’ भन्दै निर्णयको समर्थनमा बोल्न थाले ।
वागमती प्रदेशका नेकपा प्रदेश सभा सदस्य (प्रसस) केशव स्थापितको भनाइमा पार्टीले ह्वीप लगाउने भनेपछि विरोधमा उत्रिएकाहरू पनि आफ्नो राजनीतिक ‘करिअर’ नै गुम्ने भयले हेडक्वाटरको निर्णयलाई शिरोधार्य गर्न बाध्य भए । कतिसम्म भने नेवाः ताम्सालिङ नाम प्रस्ताव गर्न चाहेका पूर्व माओवादी लडाकु तथा सांसद् प्रेम तामाङले ११० सदस्यीय प्रसस मध्येबाट एकजना पनि समर्थक पाउन सकेनन् । पछि प्रदेश सभामा बोल्दै प्रसस तामाङले भने, “यो सदन राता मान्छेले भरिभराउ छ । आत्मनिर्णयको अधिकार, अग्राधिकार, समावेशिता र पहिचानको कुरा गरेर नथाक्ने मान्छेहरूको भीड छ । तर आज उत्पीडितहरूको आवाज दर्ता गराउन मैले एकजना समर्थक पनि पाउन सकिनँ ।”
नेकपाले मात्र होइन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि ‘वागमती र हेटौंडा’ कै पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । २०७४ सालमा शेरबहादुर देउवाको सरकारले तोकेको अस्थायी राजधानी हेटौंडा को पक्षमा सहमति जुटाउन देउवा बाहेक राप्रपा नेता कमल थापाको पनि भूमिका रहेको ठानिन्छ ।
काठमाडौंले पहिलेदेखि नै हेटौंडालाई रणनीतिक प्राथमिकतामा राखी त्यही अनुरूप नीति–नियम बनाउँदै आएको छ । तात्कालीन मध्यमाञ्चल क्षेत्रको राजधानी हेटौंडामा नेपाली सेनाको मध्यपृतना, उच्च अदालत जस्ता सत्ता–संयन्त्रहरू रहँदै आएका छन् । राज्यको यो संवेदनशीलतामाथि प्रमुख दलका शीर्ष नेताहरू एकजुट भएपछि हेटौंडालाई राजधानी बनाउन सहज भएको देखिन्छ ।
वागमती नामकरणभित्र रहेको राजनीति चाहिं अलिक भिन्न छ । १० वर्षे सशस्त्र द्वन्द्वको अवधिमा तात्कालिक राजनीतिक फाइदाका निम्ति माओवादीले प्रस्ताव गरेका जातीय पहिचानजन्य प्रदेशका नामहरूमा आफ्नो अस्तित्व रक्षाका खातिर तात्कालीन एमालेले समेत सहमति जनाएको लिखत छ । माओवादीको जातीय पहिचानजन्य नाममा शुरूका वर्षमा वैचारिक प्रतिरोध गर्दै आएको एमालेले पछि माओवादीकै अनुसरण गरेको देखिन्थ्यो । तर दोस्रो संविधानसभा चुनावले माओवादीलाई तेस्रो दलमा खुम्च्याइदिएपछि, जनजाति र मधेशी आन्दोलन स्वाभाविक हिसाबले दुर्बल हुनपुग्यो । त्यसपछि एकीकृत भएका नेकपा एमाले र माओवादी अहिले आफ्ना पुराना लिखत र वाचाहरू सच्याउने या उल्ट्याउने प्रक्रियामा छन् । त्यसैले पूर्व एमाले र माओवादी अहिले कुनैबेला आफैंले प्रस्ताव गरेका जाति, भाषा र क्षेत्र झल्कने नामकरण विरुद्ध स्वयं भिडिरहेका देखिन्छन् ।
प्रचण्डको दुईधारे खेल
पछिल्लो समय पूर्व माओवादी नेता प्रचण्ड पार्टीमा आफ्नो स्थान टिकाइराख्न ‘जातीय पहिचानजन्य प्रदेश नामकरणले बहुजातीय समाजको आकांक्षा भड्किने’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्लेषण अनुरूप चलिरहेका छन् । आफ्नो राजनीतिक अङ्कगणित ठीक पार्न ‘जे पनि गर्न तम्तयार’ प्रचण्डको ‘मैले पहिचानको मुद्दा छाडें’ भन्ने अभिव्यक्ति त्यही पृष्ठभूमिमा आएको बुझ्न सकिन्छ ।
...........................................................................................
पहिले भिडें, पछि छाडें
मेरो अडान अहिले पनि उही छ– “सचिवालयको निर्णय विधिसम्मत भएन । मिच्ने काम भयो । कुनै पनि काम गर्दा लोकतान्त्रिक संस्कार हामीसँग हुनुपर्छ ।”
अष्टलक्ष्मी शाक्य
प्रदेश–३ मा नेवार र तामाङको बाहुल्य छ । त्यसैले यसको नाम ‘नेवाः ताम्सालिङ वागमती’ या ‘नेपालमण्डल’ राखौं भन्ने साथीहरूको उल्लेख्य संख्या थियो । धेरै छलफल पनि भयो । कोशिश पनि गर्यौं । म डटिरहें । तर बीचैमा नेकपा पार्टी सचिवालयले ‘सर्वसम्मतले निर्णय गरिएको’ भन्दै प्रदेशको नाम ‘वागमती’ र राजधानी ‘हेटौंडा’ तोक्ने निर्णय लागू गर्न निर्देशन दियो ।
पार्टीको स्थायी कमिटीमा यस सम्बन्धमा छलफल नै भएको थिएन । केन्द्रीय कमिटीको बैठक १५ माघ २०७६ बाट शुरू हुँदैथियो । यस्तोमा एकाएक माथिको निर्णय भनेर आएपछि मलाई झ्वाँक चल्यो । मैले बैठकमै भनिदिएँ— ‘म प्रदेशको इन्चार्ज हुँ । नारायण दाहाल कामरेड अध्यक्ष हुनुहुन्छ । पदाधिकारी छौं । प्रदेश कमिटी छ । हामीसँग कुनै सल्लाह नगरी प्रदेशको नाम राखिएको छ । प्रदेश कमिटीलाई थाहा छैन, इन्चार्जलाई थाहा छैन । माथिकाले टकटक निर्णय गरिदिने ? ठोकिदिने ? यो कुरा त म मान्दै मान्दिनँ । लागू पनि गर्दिनँ ।’
सचिवालयको निर्णय परिवर्तन गर्न सकिन्छ कि भनेर धेरै हिसाबले कोशिश गरियो, तर सकिएन । पार्टी सिस्टममा गइसकेपछि अन्तिममा पार्टीको निर्णयलाई आत्मसात् गर्नुपर्दाेरहेछ । पार्टीको निर्णय उल्लंघन गर्ने, निर्देशन नमान्ने गर्दा त्यसले अर्कै चुनौती निम्त्याउने रहेछ । एक्लै लडेर नहुने रहेछ । संघर्ष त गरें, तर सकिनँ । तत्कालीन एमालेले यसलाई ‘नेवाः ताम्सालिङ वागमती’ प्रदेश प्रस्तावित गरेको थियो । तर अहिलेको बहसमा त्यो नाम लामो भयो; नाम त चिटिक्कको पो चाहिन्छ भनेर पन्छाइयो ।
नेकपा वागमती प्रदेश कार्यालयमा ‘नेवाः ताम्सालिङ वागमती र नेपालमण्डल’ नाम दर्ता गरिएको छ । यसको अर्थ यो विषय अझै छलफलमै छ र सोच्न बाँकी छ भन्ने हो । संघीयता र पहिचान स्थापित गर्नकै निम्ति २०६२/६३ को जनक्रान्ति भएको हामीले बिर्सनुहुँदैन ।
नामको मात्र कुरा होइन । नेवार र तामाङ जातिको बाहुल्य भएको यो प्रदेशमा तिनको स्थान कहाँ हुन्छ ? तिनीहरूलाई कसरी हेरिन्छ ? तिनका मुद्दा कसरी सम्बोधन गरिन्छ ? सरकारमा विभिन्न राजनीतिक नियुक्ति हुँदा तिनलाई कसरी समाहित गरिन्छ भन्ने महत्वपूर्ण कुरा हो ।
नाम भएन भनेर हामी चूपचाप बस्यौं भने केही हुँदैन । तर हामी निरन्तर लागिरहँदा, पहिचानको लडाइँ लड्दै जाँदा निर्णय गर्ने ठाउँमा पुग्न सकियो भने धेरै कुरा बदल्न सकिन्छ । त्यही भएर पहिला निर्णय गर्ने ठाउँमा पुग्नुपर्यो । त्यसका लागि एक्लै भए पनि लडिरहनुपर्दछ । हार मान्नुहुँदैन ।
म एक्लै भए पनि विधि र न्यायिक आवाजका निम्ति सधैं डटिरहनेछु, लडिरहनेछु ।
मेरो अडान अहिले पनि उही छ— ‘सचिवालयको निर्णय विधिसम्मत भएन । मिच्ने काम भयो । हामी लोकतन्त्रमा छौं । कुनै पनि काम गर्दा लोकतान्त्रिक संस्कार हामीसँग हुनुपर्छ । जतिसुकै चित्त नबुझेको भए पनि तपाईंले कुनै निर्णय लिनका लागि छलफल गर्नैपर्छ । मेरो मतलाई नमान्ला भनेर आत्तिएर त्यो समितिमै नराखेर पनि हुन्छ र ? राख्नुपर्यो । छलफल गर्नुपर्यो । तर्क गर्नुपर्यो । त्यसमा सहमति असहमति होलान् । तर छलफलमा राख्दै नराख्ने काम लोकतान्त्रिक संस्कार होइन । विधिसम्मत व्यवहार होइन ।
इन्चार्ज, नेकपा, वागमती प्रदेश कमिटी
.........................................................
तर, उनै प्रचण्ड मधेशी–जनजातिका सभा–सम्मेलनहरूमा हिजोकै भाषामा कुर्लिरहेका पनि भेटिन्छन् । थारू समुदायले १ माघ, २०७६ मा टुँडिखेलमा आयोजना गरेको माघी महोत्सवमा उनले आफूले पहिचानको राजनीति त्यागी नसकेको जनाउ दिंदै थारू समुदायलाई आन्दोलन गर्न समेत आह्वान गरे । थारू आन्दोलनका अगुवाहरूले मञ्चबाट र युवाहरूले तल दर्शकदीर्घाबाट बारम्बार ‘हुटिङ’ गरेपछि प्रतिरक्षात्मक भएका प्रचण्डले आफ्नो बचाउ गर्दै त्यहाँ भने “सगरमाथा ठाडो चढ्न सकिंदैन । त्यो उँचाइमा पुग्न कहिले दायाँ, कहिले बायाँ गर्नुपर्छ । कहिले तल झरे जस्तो पनि गर्नुपर्छ । उत्पीडित जनताको मुक्ति नहुँदासम्म म निरन्तर आन्दोलनमा तपाईंहरूसँगै रहिरहनेछु ।”
संविधानले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारकै जिम्मामा छाडे पनि दलको अह्रनखटनमा चल्ने बानी परिसकेका कुनै पनि प्रदेश सभाले अहिलेसम्म यो अधिकारको उपयोग गर्न सकेका छैनन् । संविधानको भाग–३३ मा रहेको ‘संक्रमणकालीन व्यवस्था’ को धारा २९५ को उपधारा २ मा ‘प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ मतबाट हुने’ व्यवस्था छ । तर अभ्यास चाहिं यसको ठीक उल्टो गरिंदै आएको छ । नाम राखिदिन मुख्यमन्त्रीहरू स्वयं नै पार्टी हेडक्वाटरको हस्तक्षेप आमन्त्रित गरिरहेका देखिन्छन् ।
अहिले नेपालले अभ्यास गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक विधि भनेको जनमतबाट छानिएका जनप्रतिनिधिले संसद् या प्रदेश सभाभित्र लामो छलफल र विधि प्रक्रिया मार्फत यस्ता बहसलाई तार्किक निष्कर्षमा पुर्याउनु हो । तर, वागमती र हेटौंडा नामकरणमा जसरी खुलेर नेकपा–हेडक्वाटरको हस्तक्षेप भयो र ‘माथि’को निर्देशनमा ह्वीप लगाउने सम्मका निर्णय गरियो; बाँकी अन्य प्रदेशमा पनि त्यही प्रक्रिया दोहोरिने देखिन्छ । तर यस्तो व्यवहारले संविधान र लोकतन्त्रको मर्म र अभ्यासलाई किनारा लगाउने निश्चित छ । कुनै खास विधि र सिद्धान्तमा नटेकी मनोगत ढङ्गबाट गण्डकी, कर्णाली र सुदूरपश्चिमपछि भएको वागमती प्रदेशको न्वारानले बाँकी प्रदेशहरूको नाम स्वभावतः कोशी या सगरमाथा, मिथिला या मधेश र लुम्बिनी आदि हुनसक्ने जनाउ दिइनै सकेको छ ।
२०४६ सालयता नेपाली समाजले भोगेका द्वन्द्व र राजनीतिक रिपोर्टिङमा सक्रिय खोज पत्रकारको परिचय बनाएका पुन नीति–विमर्शका कार्यकारी सम्पादक हुन् ।