नेपालको विदेश नीतिमाथि सिंहावलोकन
एमसीसी पास गरिए नेपालमा अमेरिकन प्रभाव बढ्ने र त्यसले आफ्नो सुरक्षा संवेदनशीलतामा असर पर्ने बुझाइका साथ बेइजिङ खुलेर एमसीसीको विरोधमा उत्रिएको विश्लेषण भइरहेको सन्दर्भमा यो भ्रमण भइरहेको थियो ।
लामो बहस र चर्काचर्कीपछि अमेरिकन सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गतको ५० करोड अमेरिकन डलर बराबरको अनुदान प्याकेज संसद्बाट पारित गरिएलगत्तै चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका निम्ति निस्किए । अफगानिस्तान, पाकिस्तान हुँदै भारत र अन्तिममा नेपाल आउने वाङको भ्रमणलाई रणनीतिक दृष्टिले महत्वपूर्ण ठानिएको थियो । विशेषगरी एमसीसी प्याकेज रोक्न वक्तव्यबाजीमै उत्रिएको बेइजिङ त्यसलाई रोक्न नसकेपछि ‘स्टेट काउन्सिलर’ समेत रहेका प्रभावशाली नेता वाङलाई नेपाल भ्रमणमा पठाउँदैथियो । एमसीसी पास गरिए नेपालमा अमेरिकन प्रभाव बढ्ने र त्यसले आफ्नो सुरक्षा संवेदनशीलतामा असर पर्ने भन्दै बेइजिङ खुलेर एमसीसीको विरोधमा उत्रिएको थियो ।
एमसीसीमा अतिरेक चिनियाँ चासो देखिएपछि अमेरिकन सरकारले एमसीसी पारित नगरिए ‘चिनियाँ दबावका कारण नगरिएको’ ठानिने भन्दै सरकारलाई दबाव दिइरहेको र अर्काेतर्फ यो परियोजना पारित गरिए छिमेकी चीन रिसाउन सक्ने अप्ठेरो परिस्थितिको नेपालले सामना गरिरहेको थियो । विश्वका प्रमुख दुई शक्तिराष्ट्रको वाक्युद्धले ‘पंचशीलमा आधारित असंलग्न विदेश नीति’ चेपुवामा पर्न गएको महसूस गरिएको थियो ।
पछिल्लो समयमा बढिरहेको यस्तो अप्ठेरो भू–राजनीतिक परिस्थिति र एमसीसी प्रकरणमा असन्तुष्ट बलवान छिमेकीलाई हाम्रो परम्परागत कूटनीतिले कसरी व्यवस्थापन गर्ला ? हामीले सम्झौता गरेको चीन सरकारको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना जसमा दक्षिणी छिमेकी भारतको परोक्ष असन्तुष्टि देखिन्छ, त्यसलाई हामीले कसरी अगाडि बढाउने सोचिरहेका छौं ? के हाम्रो विदेशनीतिले पछिल्लो कालखण्डमा परिवर्तन हुँदै गइरहेको विश्व राजनीतिक परिदृश्यलाई गम्भीर मूल्यांकन सहित आफ्नो विदेश नीति तय गर्ने सामथ्र्य राख्दछ ?
नीति–विमर्श ले यी र सम्बन्धित यिनै विषयमाथि ६ चैत, २०७८ मा सरोकारवालाहरूसँग ‘बीआरआई र एमसीसीको पृष्ठभूमिमा चिनियाँ विदेशमन्त्रीको आसन्न नेपाल भ्रमण’ विषयमाथि छलफल चलाएको थियो । दुई दशकदेखि परराष्ट्र मामिलामा रिपोर्टिङ गर्दै आइरहेका संचारकर्मी अनिल गिरीले विषयवस्तुमाथि आफ्नो अध्ययन–बुझाइ प्रस्तुत गरेका थिए भने संचारकर्मी जेबी पुन मगरले त्यसमाथि थप टिप्पणी गरेका थिए । कार्यक्रममा चीनका लागि पूर्व राजदूत टंक कार्की र पूर्व राजदूत तथा नेपाल–भारत र नेपाल–चीन सीमा अध्ययन गरिरहेका प्राध्यापक विजयकान्त कर्णले पछिल्लो भू–राजनीतिक संवेदनशीलतामाथि बोलेका थिए ।
सो कार्यक्रममा सम्बन्धित विज्ञ, सरोकारवाला र संचारकर्मी गरी ३० जनाभन्दा बढीको सहभागिता थियो । यस विषयमा त्यहाँ के के छलफल भए, कसले के बोले ? कार्यक्रममा उठेका टीकाटिप्पणी र छलफलका सम्पादित अंश क्रमशः प्रकाशित हुँदै जानेछन् ।
स्वर्गीय प्रा. ध्रुवकुमारमा समर्पित कार्यक्रम
केही दिनअघि एउटा दैनिक पत्रिकामा ‘चौंरी पनि बिक्न छाडे’ भन्ने समाचारको शीर्षक देखें । चौंरी आफैं लोप हुन लागेको जस्तो लागेर के कारण रहेछ भनेर हेर्दा, संखुवासभा जिल्लाको किमाथांका क्षेत्रको त्यो बस्ती सदरमुकामबाट धेरै टाढा रहेको र स्थानीयले चौंरीका बाच्छाबाच्छी तिब्बतमा बेच्नका लागि हुर्काउने गरेका रहेछन् । तर गएको दुई वर्षयता चीनको नाका नखोलिएका कारण चौंरी निर्यात हुन छाडेछ । जन्मिएका सबै चौंरीका बाच्छा पाल्न सकिंदैन, त्यसनिम्ति चरन छैन । त्यसले गर्दा उनीहरूलाई बडो अप्ठेरो भएको रहेछ । यो पेशा नै छाड्नुपर्ने अवस्था आयो भन्ने उनीहरूको भनाइ थियो ।
नेपालबाट निर्यात ठप्प भयो भन्ने यो समाचारको अर्को पाटो के थियो भने चिनियाँहरूले दैनिक उपभोगका वस्तुहरू चाहिं ल्याएर नेपालको एउटा बिन्दुमा थुपारिदिएर लैजाउ भन्ने गरेका रहेछन् । अर्थात्, उताबाट दिइने सामग्री नेपालतिर निर्वाध आइरहेको तर यताबाट चाहिं चौंरी र जडीबुटी लगायतका कुनै पनि सामान लैजानबाट रोकिएको । समाचार पढेपछि यो के भएको होला ? छिमेकीले ढोका बन्द गरेको गर्यै छ, यताबाट उता त केही पनि जान दिएको छैन । यस्तो किन भइरहेछ ? यो कस्तो स्थितिमा छौं हामी ? चीन किन यस्तो चिसो भएको ? कूटनीतिक, राजनीतिक र मानवीय सम्बन्ध के भएको हो यस्तो ?
यी र यस्ता प्रश्न केलाउन केही गर्नुपर्यो भनेर हामीले स्वाभाविक रूपमा चिनियाँ मामिलाका विज्ञ प्रा. धु्रवकुमारलाई सम्झियौं । उहाँ लेख्नलाई के गर्नुहुन्छ थाहा छैन, यसपटक उहाँलाई बोल्न लगाउनु पर्यो, मञ्च दिनु पर्यो भनेर हामीले सबै योजना बनाएर छलफलको मोटामोटी विषय पनि ‘बीआरआई र एमसीसी’ तय गरेका थियौं । हामीले सदा झैं उहाँलाई इमेल मार्फत सम्पर्क गर्यौं ।
तर उहाँले दुई, तीन पटकसम्म पनि जवाफ नफर्काएपछि के भएको रहेछ भनी ध्रुव सिम्खडाजी उहाँको घर जानुभयो । बुझ्दा प्रा. ध्रुवकुमार बिरामी भएर अस्पताल भर्ना भइसक्नुभएको रहेछ । र; त्यसपछि उहाँ अस्पतालबाट फर्कनुभएन । सदाका लागि २०७८ चैत ३ गते हामीबाट विदा हुनुभयो । त्यही पृष्ठभूमिमा यो कार्यक्रम आयोजना गरिएको हो । चिनियाँ विदेशमन्त्रीको आसन्न नेपाल भ्रमण को छेक पारेर यसलाई सान्दर्भिक तुल्याएका हौं ।
नीति–विमर्श का स्तम्भकार स्व.प्रा. ध्रुवकुमार हामीलाई सधैं लेख्न प्रोत्साहित गरिरहनुहुन्थ्यो । सुरक्षा संवेदनशीलता र कूटनीति जस्ता विषयमा प्रशस्त ज्ञान दिनुहुन्थ्यो । त्यसैले उहाँ हाम्रो सच्चा हितैषी मात्र नभई जिम्मेवार अभिभावक पनि हुनुहुन्थ्यो । तसर्थ हामी उहाँको सम्मानमा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेर यो कार्यक्रम अघि बढाउँदै छौं । धन्यवाद ।
– सम्पादक