संघीयताका पाँच वर्षः सुविधाको सम्बन्धमा प्रेस र सरकार
अहिलेका पाठक या श्रोता सूचना प्रापक मात्रै होइनन्, सन्देशबाहक पनि हुन् । उनीहरूले प्रेसबाट सूचना प्राप्त मात्रै गर्दैनन् आफैं सूचना प्रवाह पनि गर्छन् । अहिले समाचार कसले उत्पादन गर्छ, कसले प्रवाह गर्छ र कसले प्रयोग गर्छ भन्नेमा लक्ष्मणरेखा तान्न धेरै गाह्रो भइसकेको छ ।
आज नेपाली पत्रकारिताको विषयमा छलफल गर्दा संघीयतालाई सन्दर्भमा राख्नु आवश्यक भएको छ । संघीय प्रणाली अन्तर्गत देशले, संसदले, प्रदेशले र पालिकाहरूले आफ्नो पाँच वर्षको कार्यकाल बिताएका छन् । ७५३ पालिका र ७ प्रदेशमध्ये कतिले राम्रो काम गरेर कार्यकाल बिताए भने कतिले त्यसै । तर पनि राष्ट्रका निमित्त यो पाँच वर्षको सिकाइ र अनुभव महत्वपूर्ण छ । यस अवधिमा हाम्रो पत्रकारिता कतातिर गयो त ? निश्चित र लिनुपर्ने दिशा लियो कि लिएन ? प्रवृत्ति कस्तो रह्यो ? चुनौती के के छन् भनेर हेर्नु राम्रो कुरा हो । त्यसमा पनि नीतिगत छलफल अत्यन्त सन्दर्भ सान्दर्भिक छ।
महामारीका कारण पछिल्लो दुई वर्षदेखि पत्रकारिता थला परेको छ । कोभिड-१९ ले स्थापित र कर्पोरेट भन्दै आएका सञ्चार गृहलाई पनि हल्लाइदियो । कुनै सञ्चारमाध्यम तीन महीनामा त कुनै पाँच महीनामा गले । हामीले देशमा कर्पोरेट मिडिया स्थापित भएको ठान्यौं र लेख्यौं पनि । तर यो महामारीले देखायो कर्पोरेटहरू कमजोरै रहेछन्; संस्थागत संस्कृति बसेको रहेनछ । त्यसको असर यस्तो जोखिमका बेला प्रेस या पत्रकारितालाई पर्यो । विपतको बेला झन् बढी सिर्जनशील र रचनात्मक हुनुपर्ने पत्रकारहरू नै संकटमा परे । यथार्थमा कोरोनापछिका दुई वर्ष सञ्चारकर्मीहरू अनाथ जस्तै भए । जबकि, उनीहरूलाई कसैले हेर्नैपर्दथ्यो । राज्यले पनि चौथो अंगलाई गर, खाऊ भनेर मात्रै पुग्दैन । तर प्रेसको पक्षमा प्रदेश र संघका सांसद्हरूले पनि आवाज उठाएनन् ।
बितेका पाँच वर्षमा पालिका, प्रदेश र संघीय सरकाहरूले नेपाली प्रेससँग सुविधाको आधारमा सम्बन्ध राखे । राजनीतिमा ‘ट्रान्ज्याक्सनल पोलिटिक्स’ (लेनादेनाको राजनीति) भने जस्तै मिडियामा पनि ‘ट्रान्ज्याक्सनल रिलेसन’ देखिन्छ । आफूले खोजे जस्तो शीर्षक दिने मिडिया राम्रो, नदिने जति नराम्रो भन्ने हिसाबले लिएको देख्छु । सञ्चारमाध्यम स्वतन्त्र, आलोचनात्मक हुनुपर्छ भन्ने सोच कुनै पनि सरकारमा देखिंदैन । यो पाँच वर्षमा प्रादेशिक पत्रकारिता परिभाषित हुन सक्नुपर्दथ्यो । संघ, प्रदेश र पालिकालाई संविधानले नै फरक–फरक अधिकार दिएका कारण केन्द्रमा हुने पत्रकारिता र प्रदेशको पत्रकारिता विल्कुल फरक हुनुपर्दथ्यो तर हुन सकेन । यो विषयलाई हाम्रो मिडियाले पनि ध्यान दिन सके जस्तो लागेन ।
कतिपय प्रदेश र पालिकाहरूले सञ्चारकर्मीलाई जनसम्पर्क अधिकृत बनाएर आफ्नो प्रचार गराएका छन् । मेरो भनाइको तात्पर्य नआउनुपर्ने कुरा आएभन्दा पनि जनसरोकारका कुराहरू प्रेसमा आएनन् भन्ने हो । जस्तो, बन्नै नहुने ठाउँमा पनि बाटो बने । सडक फराकिलो पार्ने नाममा पहाड चिथोर्ने काम ज्यादा भयो । त्यसो गर्दा बाढी, पहिरो जान सक्छ भन्ने बहस हुन सक्नुपर्दथ्यो । तर त्यस्ता विषयमा नेपाली प्रेसले बहस चलाउन सकेन। बुल्डोजर आतंकका समाचार प्रशस्त आए पनि त्यसको कारण र परिणामबारे छलफल हुनै सकेन । एफएम रेडियोमा स्थानीय कुरा केही आए तर छापामाध्यमले स्थानीय विषय उठान गर्नै सकेन । हामीकहाँ अहिले युवा शून्य गाउँ छन्; वन शून्य पालिका छन् । तर यस्ता मुद्दाले सञ्चारमाध्यममा पाउनु पर्ने जसरी स्थान पाएनन् । सञ्चारमाध्यममा बहस नभई नहुने विषय होइनन् र यी ?
पहिलेको तुलनामा नेपाली पत्रकारितामा दक्ष जनशक्ति आएका छन् । उनीहरूलाई जनसम्पर्क अधिकृत जस्तो नबन्न र नमात्तिन भने पुग्नु पर्ने हो। तर सत्ता र राजनीतिले सबै पत्रकारलाई जनसम्पर्क अधिकृततिरै तान्न खोजिरहेको देख्छु । जबकि सूचना दुईतर्फी नै चाहिन्छ । जसको सेवा गर्न खोजिएको हो उसैका लागि पनि एकतर्फी सूचना काम लाग्दैन ।
...
बितेका पाँच वर्षमा पालिका, प्रदेश र संघीय सरकाहरूले नेपाली प्रेससँग सुविधाको आधारमा सम्बन्ध राखे। राजनीतिमा ‘ट्रान्ज्याक्सनल पोलिटिक्स’ (लेनादेनाको राजनीति) भने जस्तै मिडियामा पनि ‘ट्रान्ज्याक्सनल रिलेसन’ देखिन्छ । कतिपय प्रदेश र पालिकाहरूले सञ्चारकर्मीलाई जनसम्पर्क अधिकृत बनाएर आफ्नो प्रचार गराएका छन् ।
....
संचारप्रविधिको विस्तारका कारण पाँच वर्षअघि र अहिले धेरै कुरामा अन्तर आइसकेको छ । पहिला हामी सन्देश प्रापक अर्थात् दर्शक/श्रोता/पाठकको कुरा गथ्र्यौं । तर अहिलेका पाठक या श्रोता सूचना प्रापक मात्रै होइनन्, सन्देशबाहक पनि हुन् । उनीहरूले प्रेसबाट सूचना प्राप्त मात्रै गर्दैनन् आफैं सूचना प्रवाह पनि गर्छन् । अहिले समाचार कसले उत्पादन गर्छ, कसले प्रवाह गर्छ र कसले प्रयोग गर्छ भन्नेमा लक्ष्मणरेखा तान्न धेरै गाह्रो भइसकेको छ । यो परिवर्तित सञ्चार पारिस्थितिकीलाई सरकारले पनि बुझ्न सकेन । त्यही भएर उसले त्यस अनुसारका कानून बनाएन । संविधानमा लेखे पुग्छ भनेर बसेको छ । ऐन, नियम, निर्देशिका नभई संविधानका प्रावधान पनि कार्यान्वयनमा आउन सक्दैनन् ।
आज पत्रिका पत्रिका मात्रै रहेन, टेलिभिजन टेलिभिजन मात्रै रहेन, रेडियो रेडियो मात्रै रहेन, अनलाइन अनलाइन मात्रै रहेको छैन । यो मिडियामा आएको अर्को परिवर्तन हो । यसलाई ‘कन्भरजेन्स पत्रकारिता’ भन्न सकिन्छ, जहाँ एउटा मिडियामा अर्को मिडिया पनि भेटिन्छ । किनभने आज पत्रिका पनि तपाईं सुन्न सक्नुहुन्छ । अनि टेलिभिजनमा पत्रिकाका हेडलाइन पढ्न सक्नुहुन्छ । पत्रिका त किनेर पढिहाल्छ नि भनेर बसिरहनु पर्दैन । टीभीले पत्रिकाकै सामग्री प्रसारण गरिदिन्छ । अनि पत्रिकाले आफ्नो बेवसाइटमा टीभी जस्तै हेर्न र रेडियो जस्तै सुन्न मिल्ने सामग्री पनि राखिदिएका हुन्छन् । त्यस्तै, अनलाइनमा टेलिभिजन र रेडियोका कार्यक्रम आउँछन् ।
एकातिर संघीयता अर्कातिर मिडिया पारिस्थितिकीमा आएको परिवर्तनले गर्दा सञ्चारकर्मीलाई हिजोको सीपले मात्रै पुग्दैन । हाम्रा पत्रकारहरूले अब नयाँ-नयाँ सीप सिक्नु आवश्यक छ । पत्रकारले अब संक्षिप्त ढंगबाट तथ्य र तर्कपूर्ण कुरा स्पष्टसँग राख्न सक्नुपर्दछ । त्यसका लागि सिक्नुपर्ने एउटा सीप ‘माइक्रोब्लगिङ’ हो । अब विश्वविद्यालयले पनि रिपोर्टिङ मात्रै पढाएर पुग्दैन, ‘माइक्रोब्लगिङ’ पनि सिकाउनुपर्दछ । आज पेचिला कुरालाई दकदमै छोटो समय र प्र्रस्तुत गर्ने सीपको खाँचो छ । युक्रेन युद्धलाई ३० सेकेन्डमा कसरी प्रस्तुत गर्ने त्यो कला आवश्यक पर्दछ ।
...
मिडिया हाउसभित्र प्रविधिको प्रयोग र तत्सम्बन्धी सीपसँग ‘अपडेट’ हुने वा ‘अपडेट’ गराउने कुरालाई सर्वाधिक महत्व दिनु जरूरी छ । प्रविधिलाई समातेर वा सिकेर जान सक्यौं भने टिकिन्छ, सकेनौं भने ढिलो–चाँडो फालिइन्छ नै । त्यस्तो प्रविधिगत सीप हस्तान्तरण गर्ने एउटा भरपर्दो माध्यम चाहिन्छ । त्यसका लागि हामीकहाँ विद्यमान पत्रकारिताको कोर्स कमजोर छ । पत्रकारिता सम्बन्धी तालिमको प्याकेज पनि कमजोर छ । त्यो कमजोरी हटाउन, मिडिया तालिम सुधार्न अविलम्ब केही पहल गर्नु जरूरी छ ।
...
हाम्रो अनलाइन सञ्चारमाध्यमले अझ पनि आफूलाई पत्रिकाको विस्तारित रूप हो भन्ने ठानिरहेको छ । तर यो पत्रिकाको विस्तार हुँदै होइन । मिडियामा आएको पारिस्थितिकी अनुसार अनलाइन आफैंमा छुट्टै सञ्चारमाध्यम हो । हामी विश्वविद्यालय कलेजमा २०–२५ वर्ष पुरानो पाठ्यक्रम अनुसार पढाइरहेका वा पढिरहेका छौं । जबकि हामी अहिले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को जमानामा छौं । आज ‘अल्गोरिदम’ले हामीलाई निर्देशित गरिरहेको छ । तपाईंले युट्युबमा जनस्वास्थ्य सम्बन्धी सामग्री हेर्नुभयो भने उसले सधैं त्यस्तै त्यस्तै सामग्री तपाईंको कम्प्युटर वा मोबाइलमा पठाइरहन्छ । मिडिया उद्योग र सञ्चारकर्मी पनि अल्गोरिदमको पिछाबाट उम्किन सकिरहेका छैनन् । परिणामतः आज हामी आफूलाई सुन्न मन लागेको कुरा मात्रै सुनिरहेका छौं, पढिरहेका छौं । विश्लेषण र आलोचना समेत सुन्नुपर्ने पत्रकारलाई यस्तो अल्गोदिरम विशेष हानिकारक छ। एउटा सञ्चारकर्मीले त आफैंलाई बिर्सेर तथ्य र तर्कको भरमा दुवै पक्षलाई समेट्न सक्नुपर्दछ । यो काम सजिलो छैन । हो, हाम्रा पत्रकारमा यस्तो सीप बढ्दै गएको छ तर पर्याप्त छैन । सीप नपुग्दा तथ्य बिरुप हुन पुगेको छ । उठाउनै पर्ने कुरालाई एकदमै थोरै छुने र नउठाए पनि हुने कुरालाई धेरै महत्व दिने गरेको पाइन्छ ।
नेपाली पत्रकारितामा हुबहु नक्कल उतार्ने विकृतिले पनि महामारीकै रूप लिएको छ । यसलाई रोक्न अब सम्पादकले होइन संवाददाताले भूमिका खेल्नुपर्दछ । ‘म सबै थोक गर्छु, कपीपेस्ट गर्दिनँ’ भनेर संवाददाताहरू भित्रैदेखि ‘कन्भिन्स’ हुनुपर्दछ । यसले आमसञ्चार र पत्रकारिताको औपचारिक पढाइको महत्त्व पनि बढाएको छ । हामी अहिले रिपोर्टिङ प्रदूषणमा छौं । रिपोर्टिङका लागि फिल्डमै जानुपर्छ; त्यसमा ‘तर’, ‘वा’ ‘यदि’ भन्ने नै छैन । हाम्रा एफएममा दोहोरिने गल्तीको कारण के रहेछ भन्ने खोतल्दै जाँदा रिपोर्टरको अल्छीपन भेटिन्छ । फिल्डमा नजाने, प्रत्यक्ष भेटेर कुरा नगर्ने अनि एक पटक लेखेपछि दोहोर्याएर हेर्ने-हेराउने काम हुँदो रहेनछ । जबकि तथ्य जाँच्ने गरेमा त्यस्ता गल्ती हुनै पाउँदैनथे । पछिल्ला दिनमा पत्रकारहरूमा अध्ययन संस्कृति घटेको छ, हेर्ने संस्कृति बढेको छ; जुन पर्याप्त होइन ।
समग्रमा आज नेपाली पत्रकारिताको दिशा बरालिएको छ । हो; पत्रकारिता गर्न शक्ति र स्रोत चाहिन्छ । तर त्यसका वाबजुद पनि पत्रकारिता त गर्नै पर्दछ । त्यसैले राजनीतिकर्मी वा व्यापारीसँग अति धेरै भरपर्नु भएन; उनीहरूले आफ्नो लट्ठी झिक्नासाथ डुब्ने अवस्थामा बस्नु भएन । मिडियाले वैकल्पिक उपायको पनि खोजी गर्नुपर्दछ । आम सञ्चार गृह तीन महीनामा बन्द हुने अवस्था हुनुहुँदैन । संकटको अवस्थामा केही सहयोग सरकारले पनि गर्नुपर्छ । कठिन अवस्था आउँने बित्तिकै पत्रकारलाई घर जानुस् भन्ने अवस्थाले स्वच्छ पत्रकारिताको विकासलाई मद्दत गर्दैन । सञ्चार गृहलाई आपद् पर्दा सरकारले सघाएन भने सूचनाको ठाउँमा कुसूचना प्रवाह हुन सक्दछ । सामाजिक सञ्जाल मार्फत आउने गलत सूचना, जुन ‘भेरिफाई’ विना नै आइरहेका हुन्छन्; त्यसबाट समाजलाई जोगाउनु आवश्यक छ । गलत समाचार अथवा ‘फेकन्यूज’ को प्रकोपबाट समाजलाई जोगाउने भरपर्दो उपाय भनेकै तथ्य जाँच (भेरिफाई) गरेर जिम्मेवार र सन्तुलित रूपमा सूचना प्रवाह गर्ने मूलधारको प्रेस हो ।
...
आज पत्रिका पत्रिका मात्रै रहेन, टेलिभिजन टेलिभिजन मात्रै रहेन, रेडियो रेडियो मात्रै रहेन, अनलाइन अनलाइन मात्रै रहेको छैन । यो मिडियामा आएको अर्को परिवर्तन हो । यसलाई ‘कन्भरजेन्स पत्रकारिता’ भन्न सकिन्छ, जहाँ एउटा मिडियामा अर्को मिडिया पनि भेटिन्छ। किनभने आज पत्रिका पनि तपाईं सुन्न सक्नुहुन्छ । अनि टेलिभिजनमा पत्रिकाका हेडलाइन पढ्न सक्नुहुन्छ ।
...
प्रेस या ‘मिडिया’ लाई ‘इन्ट्रेस्ट ग्रुप’ हरूले आफ्नो चाहना अनुसार प्रयोग गर्ने प्रयास हरदम गर्छन् । यस्तो स्थितिबाट प्रेसको धर्म र दायित्व जोगाउन हरेक पत्रकारले भित्रदेखि ‘म त पत्रकार हुँ’ भन्ने संकल्प सम्झिइरहनुपर्छ । यदि पत्रकारहरू आफ्नो पेशागत सीप, कर्तव्य र गन्तव्यप्रति स्पष्ट र प्रतिबद्ध छन् भने मिडिया हाउस पार्टीकरण भए पनि त्यसलाई सच्याउने ठाउँ हुन्छ । तर दुर्भाग्यवश हाम्रा पत्रकारहरूमा यस्ता सीप राम्ररी ‘ट्रान्सफर’ भइरहेको पाइदैन । त्यसैले, हामीले पत्रकारिताका प्रवृत्तिहरूको विश्लेषण समय समयमा गर्दै जानुपर्छ । त्यस्तो विश्लेषणको निचोड सरलरेखामा नआउन सक्छ । त्यो प्रवृत्ति ६ महीनापछि अध्ययन गर्दा फेरि फरक हुन सक्छ । मिडिया, समाज र मुद्दा सँगसँगै जान्छन् । त्यसैले प्रवृत्तिको निरन्तर अनुगमन गर्दै जानुपर्छ । र गलत प्रवृत्ति रोक्नका लागि आवाज उठाउँदै रहनुपर्छ । प्रवृत्ति विश्लेषण गर्दै गयो भने सच्चिंदै पनि जान्छ । पाइलटहरूको भाषामा ‘ट्रयाजेक्टरी करेक्सन’ भन्छन् । उनीहरू उड्दै उड्दै जाँदा ‘कोर्स करेक्सन’ गर्नुपर्ने रहेछ भने गरिहाल्छन् । त्यसैले स्थिति; प्रवृत्ति सम्झाइदिइरहनुपर्छ । त्यसका लागि गुरु वा ‘मेन्टर’ अथवा जो हुन्छ उसले ‘हामी पत्रकारिता गरिरहेका छौं’ भनेर समय–समयमा प्रेस जगतलाई झक्झक्याउने काम गर्नुपर्छ।
‘मार्केट फोर्स’ का कारण मिडियाले पनि कहीं कतै गल्ती गर्न सक्छ । व्यक्तिगत ‘बायस’ पनि हुनसक्छ । म त अनुसन्धान गर्दा शुरुमै लेखिदिन्छु– मिडियाका बारेमा मेरो ‘बायस’ हुन्छ है भनेर । किनभने मिडियाप्रतिको ‘बायस’ बाट म अलग हुनै सक्दिनँ । सीएनएन, बीबीसी, अलजजिरा लगायतका मिडियाले अध्ययन गर्ने प्रवृत्ति पनि यस्तै हुन्छ । प्रेसको मुख्य दिशा ‘हामी किन पत्रकारितामा छौं ?’ भन्ने प्रश्नको जवाफले तय गर्ने हो । पत्रकारिताको सन्दर्भमा त्यो प्रश्न हिजो थियो, आज छ र भोलि पनि त्यत्तिकै सान्दर्भिक रहनेछ । यसरी सम्झाइरहने क्रम चाहिं छुट्नुहुँदैन । मिडिया एजुकेशन, मिडिया लिटरेसी, मिडिया तालिम जहाँ पनि यो प्रश्न गर्न छाड्नुहुँदैन ।
...
हाम्रा पत्रकारहरूले अब नयाँ–नयाँ सीप सिक्नु आवश्यक छ । पत्रकारले अब संक्षिप्त ढंगबाट तथ्य र तर्कपूर्ण कुरा स्पष्टसँग राख्न सक्नुपर्दछ । त्यसका लागि सिक्नुपर्ने एउटा सीप ‘माइक्रोब्लगिङ’ हो । अब विश्वविद्यालयले पनि रिपोर्टिङ मात्रै पढाएर पुग्दैन, ‘माइक्रोब्लगिङ’ पनि सिकाउनुपर्दछ ।
...
विभिन्न चुनौती आइरहन्छन्, तर पनि पत्रकारिताको उत्थानको निम्ति पहिलो शर्त भनेको संचारकर्मीको सीप विकास गर्नु नै हो । त्यो सीप तत्काल प्रचलित प्रविधिसँग ठ्याक्कै मेल खानुपर्छ । मोबाइल फोन त सबैले चलाइरहेका छन् तर मोबाइलले तपाईंलाई चलाइरहेको छ कि तपाईंले मोबाइल चलाइरहनुुभएको छ ? मोबाइलमा साँच्चै हेर्नुपर्ने कुरा हेरिरहेका छौं त ? पढ्नुपर्ने कुरा पढिरहेका छौं ? हामी जुन दिशातिर जान चाहेको हो वा जानुपर्ने हो, त्यतातिर गइरहेका छौं त ? कि कतै बरालिइरहेका छौं ? ‘कन्टेन्ट’ उत्पादकहरूले त हामीलाई बराल्न नै खोजिरहेका हुन्छन् । उनीहरूको उद्देश्य नै त्यही हुन्छ । मिडियाका लागि ‘कन्टेन्ट’ उत्पादन गर्दा हामी पनि त्यही भनिरहेका हुन्छौं कि- यस्तो विषयवस्तु उत्पादन गरौं जसले हरेकको भावना (इमोसन)लाई छोइदेओस् । यो सन्दर्भमा; प्रविधिको प्रयोग अहिलेका समाचार कक्षमा हुँदै भएन । हामी त खालि ‘काम चलेकै छ’ भनेर हिंडिरहेका छौं ।
मिडिया हाउसभित्र प्रविधिको प्रयोग र तत्सम्बन्धी सीपसँग ‘अपडेट’ हुने वा ‘अपडेट’ गराउने कुरालाई सर्वाधिक महत्व दिनु जरूरी छ । ‘तिमी काम लाग्दैनौं’ भनेर प्रविधिले धेरै पटक हामीलाई फालिदिएको छ । प्रविधिलाई समातेर वा सिकेर जान सक्यौं भने टिकिन्छ, सकेनौं भने ढिलो–चाँडो फालिइन्छ नै । त्यस्तो प्रविधिगत सीप हस्तान्तरण गर्ने एउटा भरपर्दो माध्यम चाहिन्छ । त्यसका लागि हामीकहाँ विद्यमान पत्रकारिताको कोर्स कमजोर छ । पत्रकारिता सम्बन्धी तालिमको प्याकेज पनि कमजोर छ । त्यो कमजोरी हटाउन, मिडिया तालिम सुधार्न अविलम्ब केही पहल गर्नु जरूरी छ । प्रेस मिडियाको क्षेत्रमा रुचि र खर्च गर्ने सामथ्र्य भएका संस्थाहरूले बुझ्नुपर्छ– पत्रकाारिता तालिममा गरिने लगानी सामान्य खर्च नभएर सिंगो पत्रकारिता क्षेत्रलाई आफ्नो गन्तव्यमा पुर्याउने एउटा महत्वपूर्ण आधार हो, खुराक हो ।
वरिष्ठ पत्रकार रेग्मीले २८ चैत २०७८ मा शिक्षक मासिक र नीति–विमर्शद्वारा ‘संघीयता कार्यन्वयनका पाँच वर्षमा नेपाली प्रेसको स्थिति र प्रवृत्ति’ विषयमा आयोजित छलफल कार्यक्रममा राख्नु भएको मन्तव्यको सम्पादित अंश ।