कोभिड–१९ को एक वर्षः महाव्याधिका बहुआयामिक असर
तत्काल देखिने प्रभाव मामुली जस्तो लागे पनि महाव्याधिहरूको दीर्घकालीन असर अन्य महाविपतहरूको जस्तै युगान्तकारी हुन्छ । व्यक्तिको जीवनदृष्टि फेरिन्छ । पारिवारिक अन्तरसम्बन्ध र सामाजिक मूल्यहरू क्रमशः बदलिन्छन् ।
प्राकृतिक होस् वा मानव–सिर्जित जुनसुकै महाविपतले पनि विश्व प्रणालीमा व्यापक उथलपुथल ल्याउने गर्दछ । समुद्री आँधी, नदीको धार परिवर्तन, ठूलो भुइँचालो, ज्वालामुखी विस्फोट, बाढी वा लामो खडेरीले गर्दा इतिहासमा कैयन् सभ्यता र मानव बस्ती तबाह भएका छन् । संस्कृतिको रूप फेरिएको छ । सभ्यताको दिशा र दशा बदलिएको छ । त्यस्तै महायुद्धले पनि विनाशसँगै मानवीय मूल्य एवं मान्यता बदलिदिन्छ । क्रान्ति एवं प्रतिक्रान्तिले संस्थाहरूको स्वरूप रूपान्तरित हुन्छ । भूमण्डलीय तापमान वृद्धि (ग्लोबल वार्मिङ) एवं जलवायु परिवर्तनले जैविक तथा भौतिक बदलाव निम्त्याउने प्रक्षेपण गरिंदैछ ।
तत्काल देखिने प्रभाव मामुली जस्तो लागे पनि महाव्याधिहरूको दीर्घकालीन असर अन्य महाविपतहरूको जस्तै युगान्तकारी हुन्छ । व्यक्तिको जीवनदृष्टि फेरिन्छ । पारिवारिक अन्तरसम्बन्ध र सामाजिक मूल्यहरू क्रमशः बदलिन्छन् ।
सन् १९१८–२० को स्पेनिस फ्लूलाई अहिलेसम्मको सबभन्दा विध्वंशकारी प्रकोप मानिंदै आएको छ । तथ्यांक संकलन अपरिष्कृत रहेकाले त्यसवेलाका कुल संक्रमित एवं मृतकहरूको संख्या किटानीका साथ भन्न सकिंदैन, तर प्रायःजसो अनुमान अनुसार त्यसवेला १० देखि २० करोड मानिस कालको ग्रास बन्न पुगेका थिए । हिन्दी भाषाका महाकवि सूर्यकान्त त्रिपाठी निरालाले आफ्नो आत्मकथामा ‘गंगा नदीमा आँखाले भ्याएसम्म टाढा लास मात्र बगिरहेको देखिन्थ्यो’ भनेर लेखेका छन् । स्पेनिस फ्लूबाट भारतमा मात्रै १ करोड २० लाखभन्दा बढी मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ ।
===
महामारीको क्रममा धार्मिक कर्मकाण्डले नराम्रोसँग सान्दर्भिकता गुमाउन पुगे । मुसलमानहरू मस्जिद नगए पनि हुने रहेछ; हिन्दूका मन्दिरमा भक्तजनको भीड नभए पनि हुँदोरहेछ र गिर्जाघर बन्द रहँदा कसैको जीवनमा कुनै असर पर्दो रहेनछ ।
===
त्यो महाव्याधि नियन्त्रण गर्न असफल भएकोले भारतलगायतका उपनिवेशहरूमा बेलायती शासकहरूको स्वीकार्यता घट्दै गयो । प्रकोपका वेला एकअर्कालाई सहयोग गर्न गठित स्थानीय संगठनहरूको आत्मविश्वास बढ्दै गएकोले तिनले स्व–शासनको माग जोडतोडले उठाउन शुरू गरेका थिए । र, अन्ततः स्पेनिस फ्लू साम्य भएको तीन दशक बित्दा–नबित्दै अंग्रेजहरू भारतबाट बिदा भए । ऐतिहासिक परिवर्तनको जिम्मेवारी कुनै एउटा खास घटनालाई मात्र बोकाउन उपयुक्त हुँदैन । तर, बेलायती साम्राज्य समाप्त तुल्याउनमा दुईवटा विश्वयुद्ध र सन् १९४३ को बंगालको अकाल सँगसँगै केही भूमिका १९१८–२० को स्पेनिस फ्लूको पनि रहेको कुरामा शंका गर्न सकिंदैन ।
कोभिड–१९ प्रकोपको कहर बढ्दा–बढ्दै पनि छोटो समयमै खोप (भ्याक्सिन)को प्रसार हुन लागेकोले स्पेनिस फ्लूको तुलनामा यसले गर्ने क्षति केही कम हुने आकलन गर्न सकिन्छ । कोभिड–१९ को प्रकोपलाई शुरूदेखि नै सूक्ष्म तवरले अनुगमन गरिरहेको जन्स हपकिन्स विश्वविद्यालयका अनुसार ९ मार्च, २०२१ सम्म विश्वभरि संक्रमितको संख्या ११ करोड ७५ लाख नाँघ्दा मृत्यु हुनेको संख्या २६ लाख हाराहारीमा रहेको थियो । स्पेनिस फ्लू संसारमा पानीजहाज र कतिपय देशभित्र रेलबाट सरेकोले प्रकोप धेरै छरिएको थिएन । तर हवाई यातायातको विस्तारले गर्दा चीनको वुहानबाट शुरू भएको कोभिड–१९ केही दिनभित्रै युरोप र अमेरिकासँगै दुनियाँभर फैलिसकेको थियो ।
कोभिड–१९ विषाणुको उत्परिवर्तन (म्यूटेशन) पनि भयप्रद छ । त्यसैले असरहरू पनि केही फरक हुने अनुमान गर्न सकिन्छ । तर, प्रवृत्तिगत परिवर्तनका प्रारम्भिक संकेतहरू ठम्याउन कठिन छैन । व्यक्ति, समाज, राज्य, धर्म र बजारमा महाव्याधिले पार्न सक्ने असरहरूको आकलन गरेर हेर्दा दीर्घकालीन प्रभाव मिश्रित प्रकृतिको रहने सम्भावना देखिन्छ ।
असर–१: व्यक्ति र राज्य
सन् १७८९ मा जारी संयुक्त राज्य अमेरिकाको ‘बिल अफ राइट्स’ व्यक्तिको अनुलङ्घनीय स्वायत्तताको अभिलेख हो । मानवअधिकारको विश्वव्यापी घोषणापत्रले समेत ‘बिल अफ राइट्स’ को भावनालाई समेटेको छ । तर अहिले कोरोना महाव्याधिको प्रकोपले गर्दा सामान्य हिंड्डुल र व्यक्तिगत घर–कम्पाउण्डभित्र समेत तोकिएभन्दा बढी व्यक्ति भेला हुनमा रोक तथा मास्क नलगाई सार्वजनिक स्थलमा जान नहुने आदेशहरू जारी भए । यसबाट राज्यले व्यक्तिको स्वायत्ततालाई संकुचित गर्न सक्ने प्रवृत्तिलाई भविष्यमा थप स्वीकार्य बनाउन सक्ने सम्भावना देखिंदैछ । केही अमेरिकी चिन्तकहरूले कोभिडपछिको विश्व राजनीतिमा अनुशासित तवरको ‘एशियाई प्रजातान्त्रिक प्राविधिकतन्त्र (एशियन डेमोक्रेटिक टेक्नोक्रेसी)’ हाबी हुनसक्ने सम्भावना औंल्याएका छन् । तत्काल महसूस नभए पनि, दोस्रो विश्वयुद्ध एवं शीतयुद्धको समाप्तिपछि संसारभरि नै निरन्तर विस्तार हुने क्रममा रहेको व्यक्तिको स्वायत्ततालाई सुस्तरी राज्यले अतिक्रमण गर्ने जोखिम कोभिड–१९ को महाव्याधिले बढाएको छ । भारत जस्तो कोलाहलमय प्रजातन्त्र विस्तारै ‘निर्वाचित तानाशाही’ बन्दै जाने एवं बर्मामा सैनिक निरंकुशता फर्किने प्रक्रियाको समयक्रमलाई कोभिड–१९ ले गति प्रदान गरेको हुन सक्छ ।
असुरक्षित मनोदशामा रहेको वेला व्यक्तिहरूले राज्यको प्रमुखतालाई सहजै स्वीकार गर्न सक्ने रहेछन् । विनापूर्व सूचना हठात् जारी गरिएका घरबन्दी (लकडाउन) का आदेशलाई सामान्यजनले सहजै अंगीकार गरेका थिए । जबकि राज्यले भने त्यस्तो संकटका वेला सामान्य सुविधा पनि उपलब्ध गराउन सकेन । भ्रष्टाचारका आक्षेपहरूका बावजूद दक्षिण एशियाली देशहरूमा समेत संघीय सरकारको तुलनामा प्रदेश एवं स्थानीय इकाइहरूको कार्यसम्पादन उत्कृष्ट देखिएको थियो । त्यसमा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य र न्यूयोर्क महानगरका सरकार अपवाद रूपमै प्रभावकारी देखिए । भारतमा केरला, महाराष्ट्र एवं नयाँदिल्ली सरकारको काम एवं नेपालमा वीरगञ्ज उपमहानगरपालिका तथा प्रदेश–२ सरकारले संघीय संरचनाभन्दा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । यसबाट तत्कालका लागि बलियो केन्द्रको अवधारणा स्वीकार्य देखिए पनि सुस्तरी अधिकारसम्पन्न स्थानीय सरकारको दाबी बलियो हुँदै जाने देखिन्छ ।
सामान्यतः आधारभूत स्वास्थ्य सेवा राज्यको जिम्मेवारी हुन्छ । कोभिड–१९ जस्ता महाव्याधिको प्रकोप नियन्त्रण गर्न त राज्यको अग्रसरता झनै चाहिन्छ । कोभिड नियन्त्रणका लागि लामो समयसम्म पर्याप्त प्रयोगशाला समेत नहुनु नेपाली राज्यले आफ्नो जिम्मेवारीप्रति देखाएको लापरबाहीको दृष्टान्त हो । दूरस्थ शिक्षा (डिस्टेन्स लर्निङ) नयाँ अवधारणा होइन । तर, आवश्यकताका वेला सार्वजनिक त के, नाफा क्षेत्रका ख्याति प्राप्त शिक्षण संस्थाहरू समेत आभासी कक्षा (भर्चुअल क्लास रूम) चलाउन सक्षम र सुसज्जित देखिएनन् । नेपालका अस्पताल एवं शिक्षालयको आधुनिकीकरणको टड्कारो आवश्यकतालाई कोभिड महाव्याधिले औंल्याइदिएको छ ।
असर–२: समाज र धर्म
व्यक्तिबाट परिवार बन्ने क्रम परिणयबाट शुरू हुन्छ । सम्बन्धको आधार औपचारिक विवाह वा सँगै बस्ने निर्क्योल जे जस्तो भए पनि दुई व्यक्तिबीचको सम्बन्ध आपसी विश्वासमा आधारित हुन्छ । महाव्याधि सिर्जित चौतर्फी बन्दाबन्दी (लकडाउन) ले गर्दा परिवारका सदस्यहरूसँग बढी समय बिताउने बाध्यता उत्पन्न गरायो । अन्य सामाजिक सम्पर्कबाट महीनौं टाढा रहेर सँगै बस्दा एकअर्काका सबलताका साथै दुर्बल पक्ष पनि बेवास्ता गर्नै नसकिने किसिमले उजागर हुँदै जान्छन् । घरबाट काम गर्दा विपरीतलिङ्गीय सम्बन्धमा प्रायः नारीको कार्यबोझ पुरुषको तुलनामा बढी भएको अनुभूति हुन्छ । जिम्मेवार सँगी त्यस्तो अनुभवबाट पाठ सिकेर आफ्ना सँगिनीप्रति अझ संवेदनशील बन्न सक्छन् भने केही सँगिनीलाई आफ्नो भूमिकाप्रति असन्तोष उत्पन्न हुनसक्छ । तथापि; समग्रमा सँगै बस्ने सम्बन्ध समानतामा आधारित बन्दै जान सक्नेछ । सम्बन्धविच्छेदका निर्णयसमेत आवेगभन्दा वस्तुपरक हुँदै जान सक्छन् । तर, सँगीसँगको सम्बन्ध कमजोर हुँदै गएपछि बेपत्ता एक्लोपना आउने रहेछ । असन्तुष्टिजन्य मानसिक विकार केही वर्ष अगाडिदेखि नै बढ्दै गइरहेको थियो । त्यस प्रवाहलाई कोभिड–१९ ले तीव्र बनाउँदै लगेको छ ।
परिवारलाई समाजको आधारभूत संस्था मानिन्छ । परिवार भनेको मानसिक वा कामवासनामा आधारित न्यूनतम जैविक इकाइ मात्र होइन । माता–पिता, सँगी–सँगिनी, दाजु–भाइ, दिदी–बहिनी एवं बाल–बच्चा सँगसँगै छरिएर रहेका काका–मामा, फुपू–फुपाजु, सानीआमा–ठूलीआमा जस्ता सम्बन्धहरूको पारिवारिक सञ्जालले राज्य कमजोर रहेको समाजमा व्यक्तिको सुरक्षा संयन्त्रको काम गर्ने गर्दछ । त्यस्तो अनौपचारिक सञ्जालका कमजोरीहरू यो महाव्याधिका क्रममा उदांगिन पुगेका छन् । नातागोता भन्दा मर्दापर्दा छिमेकी काम लाग्छन् भन्ने यथार्थ कोभिडले ग्रस्त व्यक्तिले अनुभव गर्न पाए । आवत–जावतमा प्रतिबन्ध एवं रोग सर्ने वा सारिने भयले गर्दा मृतकको सद्गतका लागि सहधर्मी वा सगोत्री नै चाहिने विभिन्न धर्मका परम्परागत मान्यता बेकामे बन्न पुगे भने घाट पुर्याउनेमा अन्य धर्मावलम्बीहरू पनि अग्रसर भएको देखियो । परिवार सहजै भत्किने संस्था त होइन, तर कुटुम्बका सीमितता अनुभव गरेका मानिसले भोलिका दिनमा सुस्तरी आफ्ना छिमेकीहरूलाई अझ बढी महत्व दिन थाले भने आश्चर्य हुने छैन ।
कोरोनाको प्रकोप उत्कर्षमा रहेका बेला कतिपय परोपकारी संस्थाहरूको अग्रसरता सराहनीय थियो भने अपेक्षाकृत बढी स्रोत भएका अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था एवं सक्षम जनशक्ति भएका राष्ट्रिय गैर–सरकारी संस्थाहरू स्तम्भित एवं निष्क्रिय बन्न पुगेका देखिन्थे । यसबाट भविष्यमा गैससहरूको स्वीकार्यता घट्ने एवं स्वयंसेवी प्रयत्नहरूको सक्रियता बढ्ने अपेक्षा राख्न सकिन्छ । राजनीतिक दलका विद्यार्थी, मजदूर, व्यवसायी एवं पेशागत भ्रातृ तथा भगिनी संस्थाहरूले संकटका वेला जनताको घरदैलोमा पुगेर सेवा पुर्याउने गरे । निस्वार्थ सेवाभावले तिनको सामाजिक वैधानिकतामा वृद्धि गरेको छ । कोभिडका वेला नेपाल मात्र होइन, भारतलगायत अन्य कतिपय देशमा राजनीतिक प्रकृतिका सामाजिक संस्थाहरूको अग्रसरता भने घटेको देखियो । बरू, धार्मिक प्रकृतिका संस्थाहरू संकटका वेला समाजका साथी भएर देखापरेको अनुभव गर्न सकिन्थ्यो ।
===
व्यक्तिको स्वायत्ततालाई सुस्तरी राज्यले अतिक्रमण गर्ने जोखिम कोभिड–१९ को महाव्याधिले बढाएको छ । भारत जस्तो कोलाहलमय प्रजातन्त्र विस्तारै ‘निर्वाचित तानाशाही’ बन्दै जाने एवं बर्मामा सैनिक निरंकुशता फर्किने प्रक्रियाको समयक्रमलाई कोभिड–१९ ले गति प्रदान गरेको हुन सक्छ ।
===
कोभिड–१९ महामारीको क्रममा धर्मका कर्मकाण्डहरूले भने नराम्रोसँग आफ्नो सान्दर्भिकता गुमाउन पुगेको देखिंदैछ । मुसलमानले जुमाको नमाज पढ्न मस्जिद नगए पनि हुने रहेछ । हिन्दूका मन्दिरको आरती एवं नित्यपूजामा भक्तजनको भीड नभए पनि हुँदोरहेछ । गिर्जाघर बन्द रहँदा कसैको जीवनमा कुनै असर परेन । महाव्याधिले के देखायो भने आस्तिक र उसको धर्म व्यक्तिगत वा बढीमा पारिवारिक कर्मको क्षेत्र हो । व्यक्ति एवं आराध्यदेव वा देवीबीचको सम्बन्धलाई सामाजिक वा राजनीतिक परिचालनसँग जोड्नु जरूरी छैन । आर्थिक रूपमा धार्मिक कर्मकाण्डहरू अनुत्पादक उपक्रम हुन् । तर यसकै आधारमा नास्तिकता बढ्ने, अनीश्वरवादी फैलिने वा धर्मनिरपेक्षको जमात गोलबन्द हुने जस्ता भविष्यवाणी गर्नु पनि उचित होइन । ईश्वर कमजोरको अन्तिम सहारा ठहरिने यथार्थलाई राज्यले सहजै विस्थापित गर्न सक्दैन । तर, धार्मिक कर्मकाण्ड तथा तामझाममा कमी आउने सम्भावना भने देखिंदैछ । सन् २०२१ मार्चको शिवरात्रिमा शिवालयहरूमा कम भीड देखिएको महाव्याधिको त्रासले गर्दा मात्र होइन, आस्थावानहरू घरमै बसेर व्रत र पूजा गर्न अभ्यस्त हुन थालेकोले पनि हो ।
असर–३: रोजगार र बजार
व्यक्तिको राज्यसँग भएजस्तै बजारसँग पनि अलिखित तर सर्वस्वीकृत अनुबन्धको सम्बन्ध हुन्छ । बजारले व्यक्तिगत सम्पत्तिको अधिकार, व्यवसायको स्वतन्त्रता एवं अनावश्यक हस्तक्षेपबाट मुक्तिको अपेक्षा राख्दछ । त्यसबापत बजारले उत्पादन वा आयातमार्फत पर्याप्त वस्तु वा सेवाको आपूर्ति, मोल अनुसार गुणस्तरको प्रत्याभूति एवं उपभोक्तालाई छनोटको सुविधा सुनिश्चित गर्दछ । कोभिड–१९ को महाप्रकोपले त्यस्ता सबै स्थापित मान्यताहरूलाई खारेजजस्तै गरिदियो । लामो लकडाउनका कारण आपूर्ति शृंखलामा व्यवधान उत्पन्न भएपछि कतिपय देशले आत्मनिर्भरता अभियानलाई गति दिन थालेका छन् । तत्काल उपलब्धताको कठिनाइले गर्दा उपभोक्ताहरूमा संचय गरेर राख्ने प्रवृत्ति बढेको छ । महाव्याधि अघिका दिनमा प्रतिस्पर्धात्मक आपूर्ति व्यवस्थाले गर्दा जमाखोरी, कालाबाजारी एवं नाफाखोरी जस्ता व्यापारिक प्रवृत्ति कम हुँदै गएको थियो । तर त्यो अवस्था महाव्याधिसँगै टुटेको देखियो । स्वतन्त्र उत्पादकहरू जस्तै बजारको संगठित शक्तिका अगाडि सामान्य उपभोक्ता निरीह हुने रहेछन् भन्ने यथार्थ यसपटक नराम्रोसँग उदांगियो । यसले अन्ततः बजारमा राज्यको हस्तक्षेपलाई स्वीकार्य बनाउन सक्दछ ।
रोजगारको क्षेत्रमा महाव्याधिले ल्याएको संकटले गर्दा स्वीकार्य बनेर फैलिंदै गएको अनुबन्ध आधारित कार्य सम्पादन प्रणाली (कन्ट्रक्चूअल पर्फमेन्स सिस्टम) भोलिका दिनमा थप कमजोर बन्न सक्दछ । पारिश्रमिक आकर्षक भए पनि अप्ठ्यारो परेका वेला सबभन्दा पहिले अनुबन्धित श्रमिकको रोजगार जाने रहेछ । तिनको तुलनामा तलब घटे पनि नियमित कामदारको आजीविका डुबी नै भने नहाल्ने रहेछ । यसबाट भविष्यमा ज्याला केही कम भए पनि बसोबास रहेको छेउछाउ स्थायी प्रकृतिको काम खोज्ने चलन बढ्दै जान सक्दछ । स्व–रोजगारतिर पनि मध्यम वर्गका पेशागत व्यक्तिहरू आकर्षित हुन सक्दछन् । खरिददारी गर्ने महाकाय केन्द्रीकृत बजारको साटो घरछेउको किराना पसल, टोलका सुलभ बिक्रीस्थल एवं ठेलाका व्यापारीहरूको लोकप्रियताले लगानीभन्दा श्रम–आधारित व्यापारलाई बढावा दिन सक्छ ।
प्राविधिक रूपमा टेलिकम्युटिङ अर्थात् संचारमाध्यमको सहयोगले घरबाटै कार्यसम्पादन, गृह वितरणका लागि ‘होम डेलिभरी सर्भिस’, उत्पादनको म्याद समाप्ति मिति एवं मूल्य पढ्ने तथा तिर्ने बारकोड तथा इन्टरनेट एवं टेलिबैंकिङ सेवा आदि कुनै पनि नयाँ कुरा होइनन् । नछोइकन सेन्सरको भरमा पैसा निकाल्ने वा तिर्ने प्रविधि समेत कम्तीमा एक दशक पुरानो हो । तिनको स्वीकार्यतालाई भने महाव्याधिले बढाएको छ । बढ्दो कारोबारको भार बहन गर्न सक्ने अन्तरजालको आधारभूत संरचना (इन्टरनेट इन्फ्रास्ट्रक्चर) विस्तारमा पर्याप्त लगानी भने हुन बाँकी छ । त्यस्ता गतिविधि बढ्न सक्छन् ।
ज्ञान–विज्ञानको विस्तारमा समूहगत सहकार्यको साटो वैयक्तिक सक्रियता एवं अग्रसरताको महत्व बढ्न सक्दछ । परिष्कृत संचार व्यवस्थाले गर्दा वैज्ञानिकहरू अन्तरमहादेशीय सहकार्य गर्ने गर्दथे । प्रयोगशालामा सामूहिक अनुसन्धान हुन थालेको थियो । विश्वविद्यालयहरूमा कार्यशाला, सभा एवं सेमिनारको संस्कृति व्यापक हुँदै थियो । यो महाव्याधिले ज्ञानमाथि नियन्त्रणका लागि देश र देश एवं एउटै देश भित्र विभिन्न उपक्रमका बीच हुने प्रतिस्पर्धालाई बढाइदिएको छ । चीनले कोभिडको ‘जिनोमिक सिक्वन्सिङ’ शुरूमै प्रकाशित नगरेर ज्ञानमा एकाधिकार कायम गर्ने प्रयत्न गरेको थियो । खोप वितरणको प्राथमिकतामा देखाइएको ‘भ्याक्सिन डिप्लोमेसी’ विज्ञानबाट प्राप्त अग्रतालाई मानव हितभन्दा स्वार्थसिद्धिका लागि ज्ञानको बढ्दो प्रयोगको लक्षण हो ।
सूचना र मनोरञ्जनका विधि फेरिएपछि समाजमा परिवर्तन आउनु स्वाभाविक हुन्छ । छापिएको पुस्तकको प्रचारले संगठित धर्मलाई विस्थापित गरेर व्यक्तिको धार्मिक स्वतन्त्रता बढाएको थियो । राज्य–राष्ट्र निर्माणमा अखबारको भूमिका पनि उल्लेख्य रहेकै हो । रेडियोले जनोत्तेजक राष्ट्रवाद फैलाएको मानिन्छ भने टेलिभिजनमार्फत प्रियतावादी राजनीतिकर्मीको बोलवाला बढाउनमा सघायो । अन्तरजाल (इन्टरनेट/नेटवर्किङ)ले उपलब्ध गराउने असंयमित सूचना (इन्फर्मेसन विदआउट माडरेसन) फर्जी खबरका लागि उत्पादक ठहरिएको छ । सतहमा अभिव्यक्ति स्वतन्त्रताको संवाहक जस्तो देखिए पनि पूर्वाग्रह पुष्टि, समूहगत सोच (ग्रुपथिंक) एवं बहुप्रचारित मुद्दासँग जोडिन चाहने प्रवृत्ति (बैन्डवैगन इफेक्ट) ‘सामाजिक’ भनिने अन्तरजाल (सोसल मिडिया)का उपयोगकर्ताहरूमा बेपत्ता बढेको छ । कोरोनाको महाव्याधिले गर्दा अन्तरजालका आभासी मञ्च (भर्चुअल प्लेटफर्म) नै अधिकांशका प्राथमिक सूचनाका स्रोत बन्न पुगेका छन् । यसको परिणामस्वरुप सुसूचितको साटो भावावेशमा लिइएका निर्णयहरू व्यापक हुँदै जाने सम्भावना बढेको छ । जूम, टीम वा मीट जस्ता आभासी बैठकले व्यक्तिगत सम्पर्क वा समूहगत छलफलमा जस्तो सौहार्दता उत्पन्न गराउँदैनन् । तर, अहिलेको महाव्याधि कमजोर भएपछि पनि आभासी बैठकको चलन घट्ने छाँटकाँट देखिंदैन ।
मनोरञ्जनका प्रत्यक्ष माध्यमहरू सामाजिकीकरणका निम्ति उपयुक्त अवसर पनि हुन् । नाटक, सिनेमा वा सांगीतिक गोष्ठी अब बैठक कोठाभित्र सानो पर्दामा आउन थालेका छन् । केही अन्तरजाल मञ्चहरू संचार उपभोक्ताको सोचमा एकाधिकार जमाउन सफल भएका छन् । त्यस्तो अन्तरजालका ‘बिग फाइव’ भनिने अमेजन, एप्पल, फेसबुक, गुगल एवं माइक्रोसफ्ट बाट उम्किएर सूचनाको संसारमा बाँच्न सक्ने क्षमता अब पेशागत पत्रकारहरूसँग छैन । सूचना व्यवस्थापनको अग्लो पर्खालले गर्दा चीन भने अद्यापि अपवाद रहेको छ । तर त्यो अपवाद झनै नियन्त्रणमुखी छ । नागरिक सुस्तरी दूर नियन्त्रित ‘रोबो’ एवं कामदार ‘साइबोर्ग’ (काल्पनिक व्यक्ति, जसको शारीरिक क्षमता शरीरमा निर्माण गरिएका यान्त्रिक तत्वहरूका कारण सामान्य मानवीय क्षमताभन्दा बढी हुन्छ) बन्ने जोखिम बढ्न सक्छ । त्यस्तो सम्भावनाबाट आत्तिएर प्रविधि निरपेक्षताको भावना बलियो हुने सम्भावना पनि उत्तिकै छ ।
अनपेक्षित परिणाम
संकटले पीडा सँगसँगै सचेत रहने चेतावनी एवं सुध्रिने अवसर पनि सृजना गर्ने गर्दछ । सुक्खा भूमिमा गर्न सकिने खेती–बालीको अनुसन्धान एवं मौसम प्रतिरोधी कृषिको विकास अकालका वेला आवश्यक देखिएको हो । विगतमा अन्तरजाल (इन्टरनेट) जस्तै कतिपय जीवनोपयोगी अनुसन्धानलाई युद्धको निरन्तर तयारीले गति दिएको थियो । जलवायु परिवर्तनका बाध्यताहरूलाई कोभिड महाव्याधिले सतहमा ल्याएको छ । चौतर्फी बन्दाबन्दी (लकडाउन)ले हावाको स्वच्छता, प्राकृतिक पानीको शुद्धता एवं भूमिको सफाइमा सकारात्मक योगदान गरे पनि दिगो प्रदूषण नियन्त्रणका लागि जीवनशैलीमा व्यापक सुधार जरूरी हुन्छ । उपभोग्य एवं खाद्य सामग्रीको ‘होम डेलिभरी’ पसलसम्म पुगिराख्नुको आकर्षक विकल्प ठहरिएको छ । तर, होम डेलिभरीले पोको पार्न प्रयोग गरिएका आल्मुनियम फ्वायल, कार्डबोर्ड, टिस्यु पेपर, प्लाष्टिक कटलरी तथा छापिएका एवं बाँधिएका प्लाष्टिकको पहाड खडा गरेर वातावरणमा थप समस्या निम्त्याउने सम्भावना पनि उत्तिकै छ । आफ्नै झोला बोकेर खरिदारीमा निस्कनु प्रदूषण कम गर्ने भरपर्दो विकल्प हो ।
===
कोभिड–१९ को प्रकोपसँगै नेपालमा झाडापखाला एवं मौसमी रूघाखोकी र ज्वरोको प्रकोपका खबरहरू उतिसारो सुन्नुपरेन । कोरोनाको भयले रातारात व्यक्तिगत सरसफाइका आधारभूत व्यवहारलाई स्वीकार्य बनाइदिएको छ ।
===
केही सीमितताका बावजूद टेलिकम्युटिङले ओहोर–दोहोर गर्ने समय एवं खर्चको बचत गर्नुका साथै यातायातजन्य वायु प्रदूषण न्यूनीकरण गर्न सघाउने नै छ । व्यक्तिगत सम्पर्क कम हुने भएकोले दूरस्थ शिक्षाका आफ्नै मानसिक समस्या हुन्छन्, तर लामो यात्रा अनावश्यक हुँदाको लाभ हिंडडुल गर्न अप्ठ्यारो हुनेले पाउने छन् । भीडभाड भएको सार्वजनिक यातायातबाट जोगिन पैदल एवं साइकल पथहरूको लोकप्रियता बढ्नु कालान्तरमा हिंड्नयोग्य बस्ती विकासको प्रविधिलाई स्थापित गर्नु हो । पारम्परिक समाजको छरछिमेक सहयोग प्रणालीलाई आधुनिकताको स्व–केन्द्रीयताले कमजोर तुल्याउँदै लगेको थियो । त्यस्तो चलन पुनर्जीवित हुन सक्दछ ।
कोभिड–१९ को प्रकोपसँगै नेपालमा विगतमा जस्तो झाडापखाला एवं मौसमी रूघाखोकी र ज्वरोको प्रकोपका खबरहरू उतिसारो सुन्नुपरेन । दिसा–पिसाब गरेपछि र खाना खानुअघि साबुनपानीले हात धुन लगाउने प्रचार अभियान वर्षौंदेखि चलिरहे पनि त्यसको प्रभाव उल्लेख्य हुनसकेको थिएन । तर कोरोनाको भयले रातारात व्यक्तिगत सरसफाइका आधारभूत व्यवहारलाई स्वीकार्य बनाइदिएको छ । मास्क वा कपडाले नाक, मुख छोप्नैपर्ने बाध्यताले गर्दा श्वासप्रश्वासका रोगहरूमा पनि कमी आएको हुनुपर्दछ । खाना, पानी एवं हावाबाट सर्ने व्याधिहरू घट्ने बित्तिकै अपुग रहेको सार्वजनिक स्वास्थ्य सेवामा केही भए पनि दबाब घट्छ ।
कोरोनाको प्रकोपले गर्दा नेपालमा स्थानीय एवं प्रादेशिक सरकारहरूलाई नागरिकसँग निरन्तर संवादको महत्व महसूस भएको हुनुपर्दछ । फर्जी खबरको बाढीलाई व्यक्तिगत सम्प्रेषण पद्धति विकसित गरेर मात्र परास्त गर्न सकिन्छ । संकटका वेला आधारभूत स्वास्थ्य पूर्वाधारमा गरिएको लगानीको प्रतिफल सुनिश्चित गर्न तिनको निरन्तर रेखदेख जरूरी हुनेछ । गहन चिकित्सा कक्षभित्र निष्ठावान् स्वास्थ्यकर्मीको महत्व दक्ष चिकित्सकभन्दा कत्ति पनि कम हुँदैन भन्ने कुरा नीति–निर्माताहरूले समेत यसपटक प्रत्यक्ष अनुभव गर्न पाएकोले नर्सिङ तथा चिकित्सा सहायक (पैरमेडिक) पेशाको सम्मान आउँदा दिनमा बढ्न सक्ने अपेक्षा गर्न सकिन्छ । त्यस्तो परिवर्तनको अप्रत्यक्ष लाभ मातृशिशु स्वास्थ्य सेवा एवं ज्येष्ठ नागरिक हेरचाह सुविधाले पनि पाउनेछन् ।
कुनै पनि युगान्तकारी घटनाको त्वरित मूल्यांकनका आफ्नै जोखिमहरू छन् । विकसित हुन सामान्यतः पाँच वर्ष लाग्ने खोप यसपटक एक वर्षभित्रै प्रयोगमा आउन थालेको छ । कोभिड महाव्याधिको कतै तेस्रो त कतै दोस्रो लहर फैलिंदैछ भने पहिलो लहरको प्रकोपबाट उम्किन बाँकी नेपाल जस्ता देशहरू पनि छन् ।
फ्रान्सेली राज्यक्रान्ति (सन् १७८९) का बारे सन् १९७० को दशकमा टिप्पणी गर्न आग्रह गर्दा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइको जवाफ थियो रे, “त्यस सम्बन्धमा अहिले नै केही भनिहाल्नु हतारो हुनेछ !” कोभिड–१९ को आदि, अन्त्य र यसको चौतर्फी प्रभावका बारेमा पनि अहिले नै आकलन र टिप्पणी गर्नु शायद अति हतारो ठहर्ला । तर पनि, नीति–निर्माण एवं कार्यसूची परिष्करणका लागि हतारको मत पनि बनाउनैपर्ने हुन्छ । र, जुनसुकै मूल्याङ्कनको प्रकृति सारभूत रूपले परीक्षात्मक हुन्छ एवं तिनको निरन्तर समीक्षा एवं परिष्करण भइरहनुपर्ने हुन्छ ।